आफूलाई फोन गर्ने मान्छेलाई हेलो नभन्दासम्म आनन्द र रमाइलो होओस् भनेर नै धेरैले यसरी गीतलाई ‘रिङटोन’को रुपमा राख्ने गर्छन् । तर गीतलाई ‘रिङटोन’मा राख्दा सबैभन्दा बढी मजा चाहिँ टेलिकमलाई हुने गरेको छ ।
मोवाइल फोनमा ‘रिङटोन’ को रुपमा बज्ने गीत अर्थात सिआरबिटीले सर्जकभन्दा टेलिकम धनी हुन थालेपछि गीतसँगै असन्तुष्टीका स्वरहरु पनि बढ्न थालेका छन् । टेलिकमले आफुहरुको सिर्जनामा दाईं गर्यो भनेर सर्जकहरु रुष्ट छन् ।
नयाँ प्रविधिले क्यासेट चक्का, सिडी, भिसिडीलाई बिस्थापित गरेपछि कलाकारले सिआरबिटीबाट ठूलो राहत मिल्ने आशा गरेका थिए । समय सुहाउँदो व्यवसायका रुपमा सिआरबिटीलाई लिइएको थियो । तर सिआरबिटीबाट कलाकारले राहत महशुस गर्न पाएनन् ।
अहिलेसम्म सबैभन्दा धेरै पटक सिआरबिटीमा राखिएको गीत २ लाख ८८ हजार डाउनलोड भएको छ । एकपटक यसरी गीत राखेको नेपाल टेलिकमले १२ रुपैंयाँ ४३ पैसा लिन्छ । यो हिसावले एउटै गीतबाट टेलिकमले अहिलेसम्म ३५ लाख ८५ हजार रुपैंया कमाएको उदाहरण पनि छ । तर यति धेरै कमाई हुँदा कलाकारलाई भने हात लाग्यो शून्य जस्तै छ ।
बाँडचुँडमै सकिन्छ सर्जकको भाग
एउटा गीत एकपटक सिआरबिटीमा राखिँदा उपभोक्ताबाट काटिने १२ रुपैया ४३ पैस मध्य यसका खास सर्जकले भने २५ पैसा देखि १ रुपैयाँसम्म पाउँछन् । एउटा गीतबाट हुने कमाई चारठाउँमा बाँडफाँड गरिन्छ ।
नेपाल टेलिकम, टेलिकमसम्म गीत पुर्याउने मध्यस्तकर्ता, म्यूजिक कम्पनी र सर्जक त्यसका हिस्सेदार हुन् । नेपाल टेलिकमले सिआरबिटी प्रयोग गर्न आफ्नो सफ्टवेयर दिएबापत र बिभिन्न शीर्षकका करमा गरी ७ रुपैंया ७३ पैसा लिन्छ ।
बाँकी रहेको ४ रुपैया ७० पैसामध्ये ९४ पैसा मध्यस्तकर्ताले र ३ रुपैयाँ ७६ पैसा म्यूजिक कम्पनीले पाउँछन् । म्यूजिक कम्पनीले पाउने रकममध्ये सर्जकको भागमा पर्छ, एक रुपैयाँ । त्यो एक रुपैंया बाँडिन्छ गीतकार र संगीतकारलाई । गायकगायिकाले चाहिँ सिआरबिटीको भाग पाउँदैनन् ।
सिआरबिटीको चलन सुरु भएको सातवर्ष भयो । अहिलेसम्म ८१ हजार ८ सय ७६ वटा गीत सिआरविटीमा छन् । क्यासेट र सिडी बिक्री हुन छोडेपछि अहिले संगीत व्यवसायीको मुख्य आम्दानी सिआरबिटी नै हो । सिआरबिटीले लगानी नउठाएपछि धेरै कलाकार र कम्पनीले यो पेशा नै छोडिसकेका छन् ।
संगीतकार सन्तोष श्रेष्ठ टेलिकमले लिने गरेको रकम घटाएर कम्पनी हुँदै कलाकारसम्म ल्याउन पहल गर्नुपर्ने बताउनुहुन्छ । ‘कलाकारमाथि सिधै धाँधली भएको छ, हाम्रा समस्याबारे बोल्ने खासै नहुँदा पनि अप्ठयारोमा पर्यौं’ श्रेष्ठको गुनासो छ ।
नेपाल संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढा टेलिकमले सिआरबिटीको मूल्य बढाउनुपर्ने बताउनुहुन्छ । ‘सात वर्षअघि १२ रुपैंया पर्ने चिजको अहिले झण्डै ५० पर्न थाल्यो, तर गीतसंगीतको मुल्य भने जहाँको त्यहीँ छ’ उहाँ असन्तुष्टी पोख्नुहुन्छ । टेलिकमले एकपटक सिआरबिटी राख्दा अब १५ रुपैंयासम्म बनाउनुपर्ने संघका अध्यक्षको बुढाको तर्क छ ।
सिआरबिटीमा कुनै गीत राख्ने बित्तिकै नेपाल टेलिकमले उपभोक्ताको रकम काटिहाल्छ । तर त्यो रकम टेलिकमले तीन महिनापछि मात्रै कम्पनीलाई दिन्छ । यसबाट आफूहरु मारमा परेको सर्जकको गुनासो छ । ‘टेलिकमले फोन मोवाइलबाट लिने हो फाइदा, सिआरबिटीबाट हैन’ गीतकार तथा संगीतकार राजकुमार बगर भन्नुहुन्छ–‘टेलिकमले रोयल्टी बढाएर देला भन्दा उल्टै आफैं धेरै रकम राख्छ ।’
नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधान भने आफूलाई सिआरबिटीको रकमबारे केही जानकारी नभएको बताउनुहुन्छ ।
No comments :
Post a Comment